FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता कार्यक्रम सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

१. सामाजिक सुरक्षा भत्ता कुन कुन वर्गका व्यक्तिहरुले पाउँछन् ?

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

क्र.सं.
लाभान्वित वर्ग
भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था
मासिक रकम रु.
कैफियत

१.

ज्येष्ठ नागरिक

कर्णालीः ६० वर्ष पुगेको

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–

 

२.

एकल महिला

विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

३.

विधवा

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला (नागरिकता भएका)

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

४.

पूर्ण अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

२०००।–

 

५.

अति अशक्त अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

६००।–

 

६.

लोपोन्मुख आदिवासी/जनजाती

बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु

२०००।–

 

७.

बालबालिका

पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका

देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

४००।–

 

२. सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धमा कुनै कानून लागू भएको छ ?

उत्तरः सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि जारी गरी सोही अनुसार यो कार्यक्रम सञ्चालन भइ रहेको छ ।

३. भत्ता पाउने व्यक्तिको उमेर गणना गर्दा के लाई आधार मानिन्छ ?

उत्तरः नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार लिइनेछ ।

४. नागरिकतामा जन्मेको साल र महिना खुलेको तर गते नखुलेको अवस्थामा केलाई आधार मानिन्छ ?

उत्तरः जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र सालमात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष(साल) को चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।

५. बाल संरक्षण अनुदान प्राप्त गर्नेको हकमा उमेरको गणनाको लागि केलाई आधार मानिन्छ ?

उत्तरः जन्म दर्ता प्रमाणपत्र ।

६. बाल संरक्षण अनुदानको लागि अस्पतालले प्रदान गर्ने जन्मको प्रमाण पत्र भए पनि हुन्छ ?

उत्तरः हुँदैन । स्थानीय निकायले जारी गरेको जन्म दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्दछ ।

७. कुन कुन अवस्थामा दोहोरो भत्ता लिन पाईदैन ?

उत्तरः नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघसंस्था, कम्पनीबाट तलव, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।

८. कुनै व्यक्ति एकभन्दा बढि लक्षित समूहमा परेमा के सबै समुहबाट भत्ता लिन पाउँछ ?

उत्तरः पाउँदैन । कुनै व्यक्ति एकभन्दा बढी लक्षित समुहमा परेमा त्यस्तो व्यक्तिले सबैभन्दा बढी रकम भएको एक समूहको भत्ता वा वृत्ति मात्र पाउनेछ ।

९. सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले, कहाँ निवेदन दिनु पर्दछ ?

उत्तरः सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष (श्रावण देखि आषाढ मसान्त सम्म) को मंसिर १५ भित्र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ।

१०. चालु आ.व.को मंसिर १५ भन्दा पछि उमेर पुग्ने व्यक्तिले कहिले निवेदन दिनुपर्दछ ?

उत्तरः चालु आ.व.को आषाढ मसान्तसम्म उमेर पुग्ने नागरिकहरु र आगामी आ.व.को फागुन मसान्तसम्म उमेर पुग्ने जेष्ठ नागरिकले समेत अनिवार्य रुपमा आवश्यक कागजात सहित चालु आवको मंसिर १५ भित्र निवेदन पेश गरेको हुनुपर्दछ । मंसिर १५ गतेभित्र त्यस्तो निवेदन नदिएमा त्यस्ता व्यक्तिले आगामी आर्थिक वर्षमा भत्ता पाउँदैनन् ।

११. चालु आ.व.को मंसिर १५ भित्र निवेदन दिने व्यक्तिहरुलाई परिचय पत्र कसले दिने गर्दछ ?

उत्तरः त्यस्ता व्यक्तिहरुको निवेदन उपर छानविन गरी गाउँ वा नगर सामाजिक सुरक्षा समन्वय समितिको सिफारिशमा सम्बन्धित गाउँपालिका वा नगरपालिका कार्यालयले परिचय पत्र दिने व्यवस्था छ ।

१२. के परिचय पत्र नभएका व्यक्तिहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउन सक्छन् ?

उत्तरः सक्दैनन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न परिचय पत्र प्राप्त गरेकै हुनुपर्छ ।

१३. सामाजिक सुरक्षा भत्ता लिइरहेका व्यक्तिहरुले पनि परिचय पत्र नवीकरण गर्नुपर्दछ ?

उत्तरः गर्नुपर्दछ । सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरुले हरेक आ.व. को मङ्सिर १५ भित्र आफ्नो परिचय पत्र नवीकरण गर्नको लागि निवेदन दिनुपर्दछ । नवीकरण नगरेमा आगामी आ.व. मा भत्ता प्राप्त गर्न सकिने छैन।

१४. सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ ? के हरेक महिना भत्ता वितरण हुन्छ ?

उत्तरः हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र जेष्ठ महिनाको १ गते देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।

१५. कुनै एक चौमासिकमा भत्ता वितरण गर्दा उपस्थित हुन नसकेको खण्डमा त्यस्तो व्यक्तिले अर्को चौमासिकमा भत्ता लिंदा पहिलाको चौमासिकको भत्ता लिन पाउँछ की पाउँदैन ?

उत्तरः अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ तर एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा लिन सकिँदैन ।

१६. अघिल्लो आ.व.मा भत्ता लिन नआएका व्यक्तिले चालु आ.व.मा भत्ता पाउँछन् की पाउँदैनन् ?

उत्तरः एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने अर्थात् फ्रिज हुने भएकोले अघिल्लो आ.व.को भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिहरुले असारको २० गते सम्म रकम नबुझेमा त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।

१७. के सामाजिक सुरक्षा भत्ता सबैको घर घरमा गएर वितरण गरिन्छ ?

उत्तरः सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दिन र समयमा लाभग्राहीहरु स्थानीय निकायले तोकेको मिति र स्थानमा परिचयपत्र सहित उपस्थित भई भत्ता लिनु पर्दछ ।

१८. सामाजिक सुरक्षा कार्यक्रम मार्फत प्राप्त भत्ता कुन प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ ?

उत्तरः व्यक्तिले प्राप्त गरेको भत्ता माथि सम्बन्धित व्यक्तिकै अधिकार हुने भएकोले व्यक्तिले आफ्नो इच्छा अनुसार खर्च गर्न सक्दछन् । तर बाल पोषण भत्ताको रकम बालबालिकाको लागि आवश्यक पौष्टिक खानामा खर्च गर्न दिइन्छ ।

१९. कुनै व्यक्तिको भत्ता परिवारको सदस्य वा नजिकको कुनै अन्य व्यक्तिलाई हस्ते गरी दिन मिल्छ की मिल्दैन ?

उत्तरः मिल्दैन । हस्ते गरी वा नगरी सम्बन्धित व्यक्ति बाहेक अन्य व्यक्तिलाई भत्ता रकम वितरण गर्न मिल्दैन । रातो कार्ड पाएका पूर्ण अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्रमा उल्लेखित निजको संरक्षकलाई तथा बालबालिकाको भत्ता निजको आमा वा अभिभावकलाई बुझाउन मिल्छ।

२०. बैंक मार्फत भत्ता वितरण गर्नु भनेको के हो ?

त्तरः सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको नाममा बैङ्कमा व्यक्तिगत बचत खाता खोली सोही खातामा स्थानीय तहले भत्ता वापतको रकम पठाइदिने र सेवाग्राहीले आफ्नो इच्छा अनुसार रकम निकाल्न मिल्ने ब्यवस्थालाई नै बैङ्क मार्फत भत्ता वितरण गर्नु भनिन्छ

२१. बैंक मार्फत भत्ता वितरण हुने बैंकमा समेत लाभग्राही उपस्थित हुनुपर्दछ ?

उत्तरः बैंकमा खाता खोल्ने क्रममा उपस्थित भई खाता खोल्नु पर्दछ । बैंक खाता खुलेपछि बैंक खातामा रकम पठाइने भएकोले रकम निकाल्न चाहेको समयमा बैंकमा उपस्थित हुनुपर्छ । तर चेकमा सही गरी अन्य व्यक्तिलाई पठाएर पनि रकम प्राप्त गर्न सकिन्छ ।

२२. बैंक खातामा जम्मा भएको रकम कति समयभित्र निकालिसक्नुपर्दछ ?

उत्तरः रकम निकाल्ने समय सिमा हुँदैन ।

२३. बैंकमा खाता खोल्दा कुनै रकम तिर्नुपर्दछ ?

उत्तरः पर्दैन । स्थानीय तहले सम्बन्धित बैंकसँग समन्वय गरी शुन्य मौज्दातमा खाता खोलिदिनु पर्दछ । तर लाभग्राहीले आफ्नो खातामा थप सुविधाहरु लिन चाहेमा बैंकको नियमानुसार हुन्छ ।

२४. कुन कुन अवस्थामा भत्ता पाइरहेका व्यक्तिहरुको लगत कट्टा गर्नुपर्दछ ?

उत्तरः देहायको अवस्थामा भत्ता पाइरहेका व्यक्तिको लगत कट्टा गर्नुपर्दछ :
- मृत्यु भएमा
- बसाइ सरी अन्यत्र गएमा
- एकल/ बिधवा महिलाले अर्को विवाह गरेमा
- बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
- झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा
- स्वेच्छाले भत्ता लिन नचाहेमा
- परिचयपत्र नविकरण नगरेमा
- एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा

२५. गलत व्यक्तिले सामाजिक सुरक्षा वापतको भत्ता रकम लिएमा वा गलत व्यक्तिलाई भत्ताको लागि सिफारिश गरेमा कुनै कारवाही हुन्छ की हुँदैन ?

उत्तरः गलत व्यक्तिले झुठो विवरण पेश गरी सामाजिक सुरक्षा भत्ता लिएमा निजबाट बिगो बमोजीम असुल उपर गरिन्छ । त्यसैगरी गलत व्यक्तिलाई भत्ता पाउन योग्य भनि सिफारिश गरेमा त्यस्तो सिफारिश गर्ने पदाधिकारीहरुलाई कानून बमोजिम कारवाही हुन्छ ।

श्रोत : केन्द्रीय पञ्जीकरण विभाग